काठमाडौं । वर्षभरि सुनसान देखिने गाउँका घरआँगन दशैं नजिकिएसँगै भरिभराउ हुन थालेका छन् । रोजगारी, अध्ययन र विभिन्न अवसरको खोजीमा सहर तथा विदेश पुगेका नेपालीहरू दशैं मनाउन गाउँ फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको हो । सुनसान गल्ली, चौतारी र आँगनमा आफन्त तथा छिमेकीको जमघट देखिन थाल्दा दशैंको अनुभूति घरमा रहेका बुढा बा आमालाई पनि हुन थालेको छ ।
वर्षको अधिकांश समय गाउँमा सीमित मानिस मात्रै बस्ने गरेका भए पनि दशैंको समयमा भने गाउँको वातावरण नै फेरिने गर्छ । यो अवसरमा सहरमा बसोबास गर्ने छोराछोरी, विदेशमा रहेका परिवारका सदस्य र रोजगारीका सिलसिलामा घरबाहिर रहेका आफन्तहरू गाउँ फर्किएपछि घरपरिवारमा खुसी अलगदै देखिन्छ । कतिपय गाउँमा त वर्षौंदेखि भेट नभएका आफन्तसमेत दशैंले अवसरमा एकै ठाउँमा भेला हुने अवसर जुराएको छ ।
तर, नेपालमा पाकृतिक विपत्तिका कारण केही समय अघि ठूलो जनधनको क्षति पुर्याउँदा ति स्थानमा खुसी भन्दा दुखी अनुहार धेरै देखिन्छ । यद्यपि त्यसको प्रभाव नपरेका ठाउँमा दशैंको रमाइलो माहोल गुन्जी रहेको छ । दशैंलाई परिवारका सदस्यसँग भेटघाट गर्ने, ठूलाबडाबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा बाल्यकालका साथीभाइसँग रमाउने अवसरका रूपमा धेरैले दशैंलाई लिने गरेका छन् ।
गाउँ फर्किने मानिसको चहलपहलसँगै स्थानीय बजारमा पनि गतिविधि बढ्न थालेको छ । दशैंका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, पूजासामग्री तथा अन्य उपभोग्य वस्तु किनमेल गर्नेको संख्या बढ्दा बजारमा व्यापारिक कारोबारसमेत बढ्ने गरेको छ । गाउँका पसल, होटल तथा साना व्यवसायमा दशैंको समयमा ग्राहकको आवागमन बढ्ने गरेको छ ।
त्यस्तै, लामो समयदेखि बन्द रहेका घरहरूको सरसफाइ, रङरोगन तथा मर्मतसम्भार गर्ने क्रम पनि बढेको छ । कतिपयले घरआँगन सफा गर्ने, बारीका झारपात हटाउने र घरपरिवारका सदस्यको स्वागतका लागि तयारी गर्ने गरेका छन् । गाउँमा रहेका ज्येष्ठ नागरिकका लागि पनि दशैं विशेष अवसर बन्ने गरेको छ । सहर वा विदेशमा रहेका छोराछोरी घर फर्किएपछि उनीहरूमा छुट्टै उत्साह देखिन्छ ।
दशैंको समयमा गाउँमा हुने जमघटले पुराना सम्बन्धलाई नवीकरण गर्ने अवसरसमेत प्रदान गर्छ । बाल्यकालका साथीभाइसँग भेटघाट, गाउँमा सामूहिक रूपमा गरिने रमाइलो, पिङ खेल्ने चलन र विभिन्न सांस्कृतिक गतिविधिले गाउँको वातावरणलाई थप उल्लासमय बनाउने गर्छन् । कतिपय स्थानमा स्थानीयस्तरमा सांस्कृतिक कार्यक्रम, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना भइरहेका छन् ।
तर, दशैंमा गाउँ भरिभराउ भए पनि पर्व सकिएपछि फेरि गाउँ सुनसान हुने क्रम रोकिएको छैन । रोजगारी र अध्ययनका लागि बाहिरिएका मानिसहरू दशैंलगत्तै आफ्नो कर्मथलो फर्किने गरेका छन् । यसले गाउँको जनजीवनमा दशैंको चहलपहल अस्थायी रूपमा मात्रै सीमित हुने गरेको देखाउँछ । गाउँबाट सहर तथा विदेश जाने क्रम बढ्दै जाँदा धेरै घर वर्षभरि बन्द रहने गरेका छन् । खेतीपाती गर्ने जनशक्ति घट्दै गएको छ भने गाउँका कतिपय बस्तीमा ज्येष्ठ नागरिक र बालबालिका मात्रै बस्ने अवस्था छ ।
यस्तो अवस्थामा दशैंले केही दिनका लागि भए पनि गाउँमा पुरानै रौनक फर्काउने गरेको छ । दशैंको आगमनसँगै गाउँमा देखिने यो चहलपहलले नेपाली समाजमा परिवार, आफन्त र जन्मथलोप्रतिको सम्बन्धलाई उजागर गर्दै वर्षभरि सुनसान रहने गाउँ दशैंमा भरिभराउ हुँदा गाउँले जीवनमा नयाँ ऊर्जा थपिन्छ । तर, पर्व सकिएपछि फेरि उही सुनसान अवस्था दोहोरिने भएकाले गाउँलाई वर्षभरि नै चलायमान बनाउने विषय भने चुनौतीकै हेरिए पनि नेपालीहरु माहान् पर्व दशैंले यति बेला सबैका घरमा खुसिको माहोल देखिन्छ । शुभ दशैं
