दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा ‘प्रथम लेकम दशैँ कप–२०८३’ वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ। बडादशैँको अवसरमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गरिएको हो।
लेकम क्षेत्रका युवालाई खेलकुदमा जोड्ने, स्थानीय खेल प्रतिभाको पहिचान गर्ने तथा विभिन्न वडाबीच आपसी सद्भाव, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
जापानमा व्यवसाय गर्दै आउनुभएका लेकमका युवा दिलेन्द्रप्रसाद जोशीको पहलमा स्थापना हुन लागेको युथ स्पोर्ट्स एण्ड सोसल क्लबको पहिलो प्रमुख कार्यक्रमका रूपमा प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव मनोज जोशीले जानकारी दिए ।
क्लबका अध्यक्ष दिलेन्द्रप्रसाद जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी र वडा –२ का वडाध्यक्ष शिवराज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो।
लेकम गाउँपालिका–४ स्थित हुनैनाथ माध्यमिक विद्यालय, रातामाटाको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १३ वटा टोली सहभागी छन्।
प्रतियोगितामा प्रथम हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ, द्वितीय हुने टोलीले २२ हजार २ सय २२ रुपैयाँ र तृतीय हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
स्थानीय स्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्दै युवाको प्रतिभा उजागर गर्न र विभिन्न वडाबीच आपसी सम्बन्ध सुदृढ बनाउन प्रतियोगिताले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
