कन्चनपुर। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार कुमारी शान्ति भट्ट असोज महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ।
कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाहीको प्रमुख आतिथ्यतामा भट्टलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरिएको हो।
भट्टलाई उहाँको कार्यसम्पादन, अनुशासन, आचरण तथा पृष्ठपोषणसमेतका आधारमा उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको कार्यालयले जनाएको छ। प्रहरी संगठनमा कार्यरत कर्मचारीको कार्यक्षमता, व्यावसायिक दक्षता र अनुशासनलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट प्रहरी छनोट गरी सम्मान गर्ने व्यवस्था रहेकोछ।
कर्तव्य निर्वाहका क्रममा देखाएको कार्यसम्पादन, अनुशासन र आचरणको कदर गर्दै प्रदान गरिएको यस सम्मानले प्रहरी हवल्दार भट्टलाई आगामी दिनमा अझ जिम्मेवार, अनुशासित र प्रतिबद्ध भएर कार्य गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरले कर्मचारीको कामप्रतिको लगनशीलता, जिम्मेवारीबोध र व्यावसायिक आचरणलाई प्रोत्साहन गर्न उत्कृष्ट प्रहरी छनोट गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको छ। यस्ता सम्मानले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनुका साथै संगठनप्रति जिम्मेवारी र सेवाभाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
