दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त अभिमुखीकरणमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा अगुवा उद्यमी र व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको सहभागितामा उद्यमशीलता विकासमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। स्थानीय नागरिकलाई उद्यम तथा व्यवसायमा आबद्ध गराउँदै उनीहरूको आर्थिक अवस्था सुधार गर्न लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमले स्थानीय स्रोत–साधन, उपलब्ध सीप, श्रम तथा व्यावसायिक अवसरको अधिकतम उपयोग गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ। स्थानीय आवश्यकताका आधारमा उद्यम विकासका सम्भावना पहिचान गरी रोजगारीका अवसर सिर्जना गर्न सके गरिबी न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा उपलब्ध स्रोत र सीपको सदुपयोग गर्दै उद्यमशीलता प्रवर्द्धन गर्ने तथा नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेड्पा कार्यक्रम कार्यान्वयन गरिनेछ।
