शैल्यशिखरका करारका कर्मचारीले दसैँमा पनि पाएनन् तलब

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीले महिनौँदेखि तलब पाउन सकेका छैनन्। दसैँ नजिकिँदै गर्दा पनि पारिश्रमिक नपाएपछि नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी आर्थिक समस्यामा परेका छन्।

नगरपालिकामा कार्यरत केही करारका कर्मचारीले ९ महिनादेखि र केहीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। उनीहरूका अनुसार केहीको गत पुष देखि र केहीको गत बैशाख देखि  नै पारिश्रमिक रोकिएको छ।

चाडपर्वको समयमा समेत काम गरेको तलब नपाउँदा घरखर्च चलाउन र दसैँ मनाउन समस्या भएको कर्मचारीहरूको भनाइ छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले न्यून बजेट तथा आन्तरिक स्रोतमा रकम अभाव हुँदा करारका कर्मचारीलाई तलब दिन नसकिएको बताए।

प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल मुटुसम्बन्धी समस्याका कारण उपचारका लागि काठमाडौंमा रहेकाले पनि तलब भुक्तानीमा ढिलाइ भएको उनको भनाइ छ। पौडेल काठमाडौंस्थित गंगालाल र अन्नपूर्ण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने भएकाले दसैँपछि नगरपालिका फर्किएर कर्मचारीको तलब भुक्तानी गर्ने जानकारी आफूले पाएको भट्टले मालिकार्जुन खबरलाई बताए।

नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, भेटेरिनरी तथा पञ्जीकरण शाखालगायत विभिन्न क्षेत्रमा कार्यरत करारका कर्मचारीले तलब नपाएको गुनासो गरेका छन्। उनीहरूको करार सम्झौतासमेत अहिलेसम्म नभएको पाइएको छ।

काममा लगाइएका कर्मचारीको करार सम्झौता नहुनु र महिनौँसम्म पारिश्रमिक भुक्तानी नहुनुले नगरपालिकाको कर्मचारी व्यवस्थापन तथा प्रशासनिक प्रक्रियामाथि प्रश्न उठाएको छ। काम गरेबापत पाउनुपर्ने पारिश्रमिकसमेत दसैँको मुखमा नपाउँदा कर्मचारी थप अन्योल र आर्थिक दबाबमा परेका छन्।

नगरपालिकाले आन्तरिक स्रोतमा बजेट अभाव भएको कारण देखाए पनि करारका कर्मचारीको बाँकी पारिश्रमिक कहिलेसम्म भुक्तानी हुन्छ भन्ने विषयमा भने स्पष्ट समयसीमा सार्वजनिक भएको छैन।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.