दार्चुला । बडादशैं अन्तरगत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार शक्तिपिठ, कार्यालय र घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने चलन रहेको छ ।
दार्चुलामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा फुलपाती भित्र्याएका छन् । तीन वटै सुरक्षा निकायले कार्यालय, गण तथा गुल्मबाट विहानको समयमा निस्केर दार्चुला सदरमुकाम खलंगास्थित रिङनताल, देवीको मन्दिर, भाराणी घर हुँदै मालिकार्जुन मन्दिरमा फुलपाती फित्र्याइएको बताइएको छ ।
फूलपाती नौ वटा देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। केरामा ब्रम्हयणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविदहरु बताउछन् ।
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु भएको नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फुलपातीको दिनदेखि थप बढ्ने गर्दछ । नवरात्रा अवधिभर जिल्लाका अधिकासं शक्तिपीठमा भक्तजनको घुइचो लागेको छ ।
