दसैँले गाउँबस्तीमा बढायो रौनक

दार्चुला । बडादसैँले दार्चुलाका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ ।

दार्चुलाको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ । दसैँका अवसरमा आयोजना हुने खेलकुदलगायत विभिन्न प्रतियोगिताले पनि गाउँघरमा उत्साह थप्ने गरेको छ ।

वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दसैँमा एकै ठाउँमा भेला भएर सुखदु:ख साटासाट गर्ने, मीठोमसिनो खाने र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने तयारीमा जुटेका छन् ।

विशेषगरी रोजगारीका लागि जिल्ला बाहिर तथा अध्ययनका लागि सहरमा रहेका युवा–युवती घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन् ।

दसैँका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल दार्चुलाका मुख्य बजारमा बढेको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल तथा पूजासामग्रीका पसलमा ग्राहकको आवागमन बढेको छ । सदरमुकाम खलंगा बजार, गोकुलेश्वर, लटिनाथ गायतका बजारमा चाडपर्व लक्षित व्यापारिक गतिविधि बढेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.