महाकाली पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

दार्चुला । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार महाकाली नदीमाथि निर्माण गरिएको दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने मोटरेबल पुलको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

भारतको दुईदिने औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित उच्चस्तरीय द्विपक्षीय भेटवार्तापछि भर्चुअल माध्यमबाट उक्त पुलको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत सहयोग अन्तर्गत भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण सम्पन्न भएको यो ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको

करिब ३२ करोड ९८ लाख भारतीय रुपैयाँ (करिब ३३ करोड भारु) को लागतमा भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले निर्माण गरेको यस पुलको शिलान्यास विसं २०७९ असोज ३ गते (सन् २०२२ सेप्टेम्बर १९) तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए।

सडक यातायात सञ्चालनमा आएसँगै सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङलगायत सीमावर्ती क्षेत्रका नागरिकको आवतजावत सहज हुनुका साथै दुई देशबीचको व्यापार, पारवहन, धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

यसअघि नै भारतीय पक्षले यस पुललाई औपचारिक स्थल भन्सार मार्गका रूपमा अधिसूचित गरिसकेको छ भने सीमा क्षेत्रमा भन्सार तथा सुरक्षा व्यवस्थापनका लागि आवश्यक पूर्वाधारसमेत तयार पारिएको छ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय भारत भ्रमण हो। आइतबार गएर सोमबार नेपाल फर्कने गरी भएको यस भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच व्यापार, ऊर्जा, हवाई तथा रेल कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक साझेदारीका विविध विषयमा महत्त्वपूर्ण छलफल तथा विभिन्न परियोजनाहरूको शुभारम्भ गरिएको छ।

Leave A Reply

Your email address will not be published.