तीन वडामा बाल कचहरी, बालबालिकाले उठाए विद्यालयदेखि सामाजिक विकृतिसम्मका सवाल

दार्चुला। मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १, २ र ४ मा वडा स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामीण विकास समाज नेपाल (CRDS) को सहजीकरणमा बिहीबार कार्यक्रम आयोजना गरिएको हो।

बालबालिकाले विद्यालय तथा समुदाय स्तरमा भोग्दै आएका समस्या र चुनौतीहरू सरोकारवाला निकायसमक्ष प्रत्यक्ष रूपमा राख्ने तथा समाधानका लागि पहल गर्ने उद्देश्यले बाल कचहरी आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा वडा नम्बर ४ अन्तर्गतका खान मावि ऐरिछाना, हुनैनाथ मावि चन्दनपुर, बालिचन आवि चडेखान, हुनैनाथ आवि बेलुकोट र जनज्योति आवि देबधुरालगायत वडा नम्बर १ र २ का विभिन्न विद्यालयका बालबालिकाको सक्रिय सहभागिता रहेको थियो।

कचहरीमा सहभागी बालबालिका, बालक्लब तथा किशोरी समूहका पदाधिकारीहरूले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, सरसफाइ, महिनावारी स्वच्छता र सामाजिक विकृतिका विषयमा सरोकारवालासमक्ष प्रश्न तथा जिज्ञासा राखेका थिए।

बालबालिकाले जीर्ण तथा चुहिने विद्यालय भवन, घेराबार र खेलमैदानको अभाव, उमेरअनुसारका डेस्क–बेन्च नहुनु, खानेपानी तथा सरसफाइ सामग्रीको कमीलाई प्रमुख समस्याका रूपमा उठाएका थिए। विद्यालयमा छुट्टै शौचालय र सेनेटरी प्याडको उचित व्यवस्थापन नहुँदा छात्राहरूले भोग्नुपरेका समस्याबारे समेत ध्यानाकर्षण गराएका थिए।

त्यस्तै, विषयगत शिक्षकको अभाव, विज्ञान प्रयोगशाला तथा आईसीटी कक्षाको कमी, पुस्तकालय र अतिरिक्त पठन सामग्रीको अभाव, खेलकुद सामग्रीको अपर्याप्तता तथा दिवा खाजा व्यवस्थापनमा देखिएका समस्याबारे पनि सवाल उठाइएको थियो।

अभिभावकले घरमा बालबालिकाको गृहकार्य तथा पढाइमा पर्याप्त ध्यान नदिने र विद्यालयका गतिविधिमा न्यून सहभागिता जनाउने गरेको विषयलाई समेत बालबालिकाले कचहरीमा उठाएका थिए।

शैक्षिक समस्यासँगै विद्यालय छाड्ने प्रवृत्ति, बालविवाह, बालश्रम, घरेलु तथा लैङ्गिक हिंसा, लागुपदार्थ दुर्व्यसनी र जुवातासजस्ता सामाजिक विकृतिका विषयमा पनि बालबालिकाले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।

बालबालिकाले उठाएका सवालको जवाफ दिँदै सरोकारवाला निकायका प्रतिनिधिहरूले समस्या समाधानका लागि गम्भीरतापूर्वक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। दरखास्त आह्वान गर्दा समेत दक्ष जनशक्ति उपलब्ध हुन नसक्दा विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको उनीहरूले स्पष्ट पारेका थिए। पढाइमा कमजोर विद्यार्थीका लागि उपचारात्मक (रेमेडियल) तथा अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने सुझावसमेत दिइएको थियो।

बजेट आवश्यक पर्ने ठूला पूर्वाधारसम्बन्धी समस्या समाधानका लागि वडा कार्यालय र विद्यालय प्रशासनले गाउँपालिकासँग समन्वय गर्ने सहमति भएको छ।

यसैगरी, मालिकार्जुन गाउँपालिका २०८२ सालमै बालविवाहमुक्त पालिका घोषणा भइसकेको भए पनि पछिल्लो समय भागेर गरिने बालविवाह रोक्नु चुनौतीका रूपमा देखिएको सरोकारवालाहरूले बताएका छन्। बालविवाह नियन्त्रणका लागि सबै पक्ष मिलेर सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

सम्बन्धित वडाका वडा अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू, प्रधानाध्यापक तथा शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्य चौकी तथा प्रहरी चौकीका प्रमुख, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र अभिभावकहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार गाउँपालिकाका सबै वडामा बाल कचहरी सम्पन्न गरी त्यहाँबाट सङ्कलन भएका प्रमुख समस्या तथा सवालहरूलाई समेटेर आगामी दिनमा पालिकास्तरीय बृहत् बाल कचहरी आयोजना गरिनेछ।

Leave A Reply

Your email address will not be published.