दार्चुला । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार नौ सय ९७ जनाको नमूना परीक्षण गर्दा एक सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५० जना निको भएका छन् । थप दुई जनाले कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । अहिले नेपालमा पाँच हजार चार सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्षित समूहको ६० प्रतिशत मानिसले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । सरकारले १८ वर्ष माथिको जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा अहिलेसम्म ६० दशमलव एक प्रतिशत अर्थात एक करोड १९ लाख ७४ हजार पाँच सय ८८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले भोलिदेखि १२ वर्ष माथिका बालबालिकाहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउँदैछ ।