दार्चुलाका दुई स्थानीय तहमा अझै पुगेन राष्ट्रिय प्रसारण लाइनको विद्युत

पुष्पराज जोशी

दार्चुला ।  दार्चुलाका दुई वटा स्थानीय तहमा अझै पनि राष्ट्रीय प्रसारण लाइनको विद्युत पहुच पुगेको छैन । जिल्लाको नौगाड र अपिहिमाल गाउँपालिकामा हालसम्म पनि राष्ट्रीय प्रसारण लाइनको विद्युत  पुग्न नसकेको हो ।

विद्युत प्राधीकरण केन्द्र दार्चुलाका अनुसार जिल्लाका करिब २७ हजार घरधुरी मध्ये ११ हजार ५ सय घरधुरिमा मात्र राष्ट्रिय प्रसारण लाइनको बिद्युत पुगेको छ । ९ वटा स्थानीय तह रहेको दार्चुलामा ७ स्थानीय तहका धेरै जसो ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको विद्युत प्राधिकरण कार्यालय दार्चुलाका सूचना अधिकारी शंकर स्वारले बताउनु भयो ।

जिल्लाका ७ स्थानीय तहका  ४२ दशमलव ५ प्रतिशत घरधुरीमा मात्रै विद्युत पहुँच पुगेको छ । चमेलीया, नौगाड जस्ता ठुला जलविद्युत आयोजना निर्माण गरेको दार्चुलाका आधा भन्दा बढी जनसंख्था अझै पनि विद्युत सेवाबाट बन्चीत रहेको छ ।

नेपाल सरकारले देशभरि सन २०२२ भित्र राष्ट्रिय प्रसारण लाईनको विद्युत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम भने भएको छैन ।  नेपाल सरकारकै लक्ष्य अनुसार दार्चुला जिल्लालाइ पनि २०२२ भित्रै विद्युतिकरण गरिसक्ने लक्ष्य रहेको छ । जिल्लाको झन्डै ५८ प्रतिशत जनसंख्या विद्युतिकरण बाहिर रहेको अवस्थामा लक्ष्य भित्रै जिल्ला भित्र विद्युतिकरण नहुने देखिएको छ। तर प्राधिकरण कार्यालय दार्चुलाले भने जिल्ला अधिकांस ठाउँमा विद्युत लाईन विस्तार गरिसकेकोले सन २०२२ भित्रै जिल्लाका अधिकांस ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा विस्तार भइसक्ने जनाएको छ।

जिल्लाका करिब २–३ प्रतिशत घरधुरीमा ग्रामिण स्तरमा निर्माण भएका जलविद्युत र बैकल्पीक उर्जाको पहुँचमा रहेका छन, भने ५६ प्रतिशत घरधुरी अझै पनि सोलार र टुक्कीकै भरमा रहेका छन । स्थानीय तहको निर्वाचनमा विद्युतिकरणलाई प्रमुख एजेन्डा बनाएका स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले भने उदासिन्ता देखाएका छन।

Leave A Reply

Your email address will not be published.