कार्यकारी निर्देशकबाट दाहालको राजीनामा

दार्चुला – नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट प्रा पुरुषोत्तम दाहालले राजीनामा दिनुभएको छ । यही ९ पुसबाट लागू हुने गरी उहाँले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति तथा उपसभापतिलाई नवीन परिस्थितिमा कार्य सहजीकरण होस् भन्ने अभिप्रायले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले तत्कालीन उपसभापति विमलेन्द्र निधि र नवनिर्वाचित उपसभापतिद्वारा पूर्णबहादुर खड्का र धनराज गुरुडलाई बोधार्थ दिँदै राजीनामा पत्रमा प्रतिष्ठान पार्टीको सैद्धान्तिक, वैचारिक र नीतिगत स्पष्टताका लागि निरन्तर क्रियाशील हुनुपर्ने र यसलाई संस्थागत बनाउन पार्टीले गम्भीर हुनुपर्ने सुझाव दिनुभएको छ ।

प्रा दाहाललाई २०७५ साउन १ गते तत्कालीन उपसभापति विमलेन्द्र निधिले कार्यकारी निर्देशक नियुक्त गर्नुभएको थियो । विसं २०३१ देखि नेपाल विद्यार्थी सङ्घ हुँदै पार्टीमा लामो समयसम्म केन्द्रीय प्रचार विभाग सदस्य र विगत २०४८ र ०५१ को आमनिर्वाचनमा प्रचार समितिको सदस्य र सदस्य सचिव भएर योगदान दिनु भएका दाहालले प्रतिष्ठानलाई संस्थागत विकास गराउन अभिलेखीकरण, प्रशिक्षण पुस्तक प्रकाशन र देशव्यापी प्रशिक्षणमा महत्वपूर्ण कार्य भएको जनाउनुभएको छ ।

दाहालले यही मङ्सिर १२ नेपाल संस्कृत विश्वविद्यालय राजनीतिशास्त्र विभागबाट उमेर हदले अनिवार्य अवकाश लिनु भएको थियो । उहाँ विगत ४५ वर्षदेखि पत्रकारितामा सक्रिय र हाल राष्ट्रिय दैनिक हिमालय टाइम्स र हरेक पल डटकम अन लाइनको सम्पादक समेत हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.