राजेन्द्र महतो /लहान -केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले बताएका छन।
यस अघि प्रदेश २ को सप्तरी र धनुषा मा पनि कठ्याङ्ग्रिएर २ जनाको मृत्यु भएको थियो। अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि प्रदेश नं २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ । सिरहाको लहान र सिरहा नगरपालिका सहितका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो पालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् । चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वास सम्बन्धी समस्या लिएर उपचारका लागि अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको छ।
विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । चिसोबाट सबैभन्दा बढी बालबालिका, दमरोगबाट प्रभावित भएका वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गरी घर खर्चको जोहो गर्ने मानिस प्रभावित भएका छन । शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बच्न परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् भने चिसोबाट बच्न टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ।