दार्चुला – हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जनाको पाँच दिनपछि उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयवासीको समन्वयमा हिउँमा फसेकाहरूको हिजो बुधवार उद्धार गरिएको हो ।
गएको माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी सङ्कलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना घर फर्किन नसकेर हिउँमा फसेका थिए ।
गएको माघ २३ गते उनीहरूको उद्धार गर्न स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हेलिकप्टर पठाइएको थियो । तर बाक्लो हिउँ जमेकाले हेलिकप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न खसालेर हेलिकप्टर फर्किएको थियो ।
यसैबीच हिजो सुरक्षा निकाय, प्रशासन, गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जनाको उद्धार गरिएको हो । साथै पाटनमा रहेका सयौँ भेडाको पनि उद्धार गरिएको प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।