दार्चुला । संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा हुनुहुन्थ्यो । त्यसका लागि खेताला लिन उहाँ बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लाग्नुभयो ।
तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उहाँको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उहाँका दुई दाजुभाइलाई लिन जानुभएको थियो । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् ।
कराउन थालेपछि आत्तिएका उहाँले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
तेजबहादुरलाई हत्या गर्नुपछाडि पनि बलियो कारण प्रहरीले खुलाउन सकेको छैन । तर लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको प्रहरी बताउँछ ।
पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुरले लोकबहादुरलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उहाँकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।
‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले भन्नुभयो, ‘त्यही रिसले हत्या गरेछन् ।’ लोकबहादुर मानसिक रोगीसमेत भएको प्रहरी बताउँछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।