१८ वर्षमाथिका सबैलाई बुस्टर डोज

दार्चुला – १८ वर्ष र सोभन्दा माथिका सबैलाई कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । पूर्ण खोप लिएको ६ महिना पुगेका सबै वयस्कलाई बुस्टर लगाउन थालिएको हो । त्यस्तै, सरकारले कोभ्यासअन्तर्गत अनुदानमा प्राप्त हुने फाइजरको ९२ लाख डोजलाई पनि प्राथमिक पहिलो र दोस्रो सँगै बुस्टरका रूपमा लगाउने योजना बनाएको छ ।

खोपसँगै डाइलेन्ट र सिरिन्जसमेत निःशुल्क आउने मन्त्रालयले जनाएको छ । विभिन्न अध्ययनअनुसार बुस्टर डोजले शरीरमा भएको एन्टिबडी प्रतिरोध क्षमताको स्तरलाई बढाउँछ । बुस्टर लिएपछि बिरामीलाई कोभिड संक्रमण भए पनि गम्भीर रूपले बिरामी हुने सम्भावनामा कमी आउँछ । पूर्ण खोप लगाए पनि केही समयपछि शरीरमा भाइरसविरुद्धको एन्टिबडी कम हुँदै जाने भएकाले बुस्टर डोज अभियानलाई तीव्रता दिन विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

१८ वर्ष पूरा भएकालाई उपलब्ध भए पहिले लगाइएकै खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जान्सेन, फाइजरलाई बुस्टरको रूपमा लगाइने भएको छ । खोप लगाउन जाँदा पूर्ण खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ । हालसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप नेपालमा लगाइएको छ । सरकारले कोभिसिल्ड, अस्ट्राजेनेका र एमआरएनए खोप लिएकालाई बुस्टरका रूपमा भेरोसेल लगाउन अनुमति दिएको छैन । तर, भेरोसेल लगाएकाले भने बुस्टरका रूपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना र फाइजर लगाउन सक्छन् ।

खोप अभियान सुरु भएयता ३ करोड ७१ लाख २१ हजार १ सय ९६ डोज खोप लगाइएको छ । बुधबारसम्म ९ लाख ४३ हजार ९ सय ५६ डोज अतिरिक्त खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल जनसंख्याको ६०.९ प्रतिशत अर्थात् १ करोड ७७ लाख ८६ हजार १ सय ३३ जनाले पूर्ण र ७३.४ प्रतिशत अर्थात् २ करोड १४ लाख १२ हजार ९ सय ८६ जनाले एक डोज खोप लगाएका छन् । हालसम्म अनुदान र खरिद गरी ४ करोड ७८ लाख ८२ हजार ८ सय डोज खोप भित्रिएको छ ।

Leave A Reply

Your email address will not be published.