ज्येष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’, महासंघद्वारा स्वागत

दार्चुला- नेपाल पत्रकार महासंघले सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णयको स्वागत गरेको छ । महासचिव रोसन पुरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो निर्णयको पूर्ण कार्यान्वयन हुनेमा महासंघ विश्वस्त रहेको जनाएका छन् । २०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट ज्येष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका ज्येष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘ज्येष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको छ । नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो । यद्यपि सरकारको यो निर्णय स्वागत योग्य भएपनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेकोले महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

Leave A Reply

Your email address will not be published.