महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको बताउनुभयो । उहाँले भन्नु भयो, “असारभित्रै सेवा सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ठेक्का प्रक्रियाद्वारा भवन निर्माण भइरहेको छ । जनशक्ति तयारी अवस्थामा छ ।”

उहाँका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माणका लागि रु ५८ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौतानुसार निर्माण सुरु भएको छ । अस्पतालमा सो सेवा सञ्चालनका लागि पाँच मेसिन खरिद गरिएका छन् । ती मेसिनको मूल्य रु एक करोड २५ लाख रहेको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय अघि बढाएको छ । डायलासिस सेवाका लागि फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जनालाई तालिम दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार सेवा सञ्चालन भएपछि दैनिक १० देखि १५ जनालाई डायलासिस गर्न सकिन्छ । अहिले कञ्चनपुरमा मात्रै सय बढी मिर्गौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलासिस गराइरहेका छन् । यसैगरी अस्पतालमा जडान हुने दुईवटा अक्सिजन प्लान्टमध्ये एक प्लान्ट जडान भई उत्पादन सुरु भएको छ । अर्को अक्सिजन प्लान्ट जडानका लागि काम अगाडि बढाइएको छ । अस्पतालमै प्लान्ट जडान भएपछि बिरामीले अक्सिजनकै लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

Leave A Reply

Your email address will not be published.