दार्चुला सहित सुदूरपश्चिमका अस्पतालमा नयाँ अध्यक्ष नियुक्त

दार्चुला – जिल्ला अस्पताल दार्चुला सहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरिएको छ । बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले अस्पताल व्यवस्थापन समितिमा नियुक्ति दिएको हो ।

डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियूक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् । प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

जिल्ला अस्पताल दार्चुलामा दीपक जोशी , जिल्ला अस्पताल बैतडीको अध्यक्षमा पार्वती भट्ट , जिल्ला अस्पताल बझाङमा सुनबहादुर सिंह, जिल्ला अस्पताल अछाममा शिव बोगटी र जिल्ला अस्पताल बाजुरमा मानबहादुर कार्की नियुक्त भएका छन् । यस्तै सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह , महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट र टीकापुर अस्पतालमा झपटबहादुर सोडारी नियुक्त भएका छन् ।

डोटी जिल्लामा केही दिनभित्रै अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त गरिने प्रदेश सरकारले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.