दार्चुला । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ ।
नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ(क्यान) का म्यानेजर विनोद दासले जानकारी दिनुभएको छ।
नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।
नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो ।
क्यानडामा द्विपक्षीय शृङ्खला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग -२ का ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ ।
अमेरिकामा भएको लिग २ को ओमानसमेत सम्मिलित शृङ्खलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग-२ मा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।