बुटवलमा बन्यो अत्याधुनिक सम्मेलन केन्द्र,

दार्चुला – बुटवल उपमहानगरपालिका–१० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी हुनुहुन्थ्यो । ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रमा रङरोगन, विद्युत्, साउन्ड सिस्टम, सीसीटीभी जडानलगायतका काम सकिएको छ ।  १ अर्ब ११ करोड रुपैयाँ लागतमा सहरी विकास मन्त्रालयले बनाएको सम्मेलन केन्द्रमा मुख्य सभा हलसहित झण्डै २ हजार जना मानिस अट्ने १३ वटा हल छन् । सबैभन्दा ठूलो र मूख्य हल गौतमबुद्धमा एक हजार जना मानिस अट्छन् । आधुनिक किसिमले बनाइएका हललाई आकर्षक किसिमले सिंगारिएको छ । अत्याधुनिक सम्मेलन केन्द्र निर्माण भइसकेकाले अब बुटवलमै अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन गर्न सकिनेछ । केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुरेन्ट, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवास गृह छ । सम्मेलन केन्द्रबाहिर बनाइएका आकर्षक पोखरीमा चन्द्रसूर्य आकारका फोहोरा निस्कन्छन् । सम्मेलन केन्द्रबाहिर रहेको पार्किङमा ४ सय वटा चारपांग्रे र ४ सय वटा दुई पांग्रे गरी ८ सय वटा गाडी पार्किङ गर्न सकिन्छ ।  पाँच वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा काम सुरु भए पनि सम्मेलन केन्द्रको निर्माण २०७८ सालमा मात्रै सम्पन्न भएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । सम्मेलन केन्द्र निर्माण सम्पन्न भए पनि अहिलेसम्म कस्ले र कसरी सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन ।

Leave A Reply

Your email address will not be published.