आज हरितालिका तीज पर्व मनाइँदै

दार्चुला- आज हरितालिका तीजपर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । पछिल्ला वर्ष नेपालमा सबै धार्मिक समुदायले तीजलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवम् विश्वासकासाथ मान्ने गरेको पाइन्छ । तीज पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गरी तीजको मौलिकता र सांस्कृतिक महत्त्वको जगेर्ना गरी मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीज पर्वले सामाजिक, सांस्कृतिकएकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री देउवाले सरकार शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । हरितालिका तीज पर्वको अवसरमा शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.