मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि

दार्चुला – ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा डेङ्गी फैलिएको छ । ललितपुरमा कतिपय परिवारका सबै सदस्यलाई नै डेङ्गी पुष्टि भएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाण्डौमा ८ सय ८८ जना छन् ।

डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।

डेङ्गीको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ । अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

समुदायमा डेङ्गी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।

यस्तै, कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा बेलाबेला पानी फाल्न र सफा गरिरहन उहाँको आग्रह छ । यस्तै, गाडीका टायरमा जमेको पानीमा पनि लमखुट्टेले फुल पार्ने हुँदा जमेको पानी हटाउन सुझाव दिइएको छ । लामखुट्टे नियन्त्रण नै डेङ्गी रोकथामको मुख्य उपाय हो । यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ जथाभाबी औषधि नखान पनि डाक्टरको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.