दार्चुला– उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । असोज महिनाको तेस्रो हप्ता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० केदार खनालले बताउनुभयो । ‘सामागाउँमा आज दिउँसोपछि हिमपात सुरु भएको हो’, उहाँले भन्नुभयो, ‘हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।’ हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्न सक्ने भन्दै सामागाउँमा अहिले तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । ‘मनास्लु हिमालको आरोहणमा रहेका आरोहीलाई कुनै पनि बेला समस्या पर्नसक्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘सम्भावित जोखिमपूर्ण परिस्थितिलाई ध्यानमा राखेर हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।’ सामागाउँमा कैलाश, सिम्रिक र एभरेस्ट एअरका एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उहाँको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् ।
गोरखा प्रहरीका अनुसार हिजो बुधवारसम्म तीन सय ६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ ।