लगातारकाे वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँ–ठाउँकाे बिजुली आपूर्तिमा अवराेध

दार्चुला – लगातारको वर्षा, हावाहुरी, बाढी–पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको बिजुली आपूर्ति बन्द भएको छ ।मुख्यरूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङलगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत बेलडाँगी भन्ने ठाउँमा पहिरोले टावर ढालेको आशङ्का गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण त्यो ठाउँमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताउनुभयो । प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको बिजुली आपूर्तिमा अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई बिजुली दिइएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।प्राधिकरणले हापुरे सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई बिजुली आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् । प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनर्स्थापना प्रणाली आरएस अन्तर्गत रहेको टावर जडान गरी बिजुली आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गर्नुभयो ।‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्‍याएको छ, चाडपर्वको बेला पनि हाम्रा कर्मचारीलाई काममा खटाएर तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई बिजुली आपूर्ति दिइरहेका छौँ’, घिसिङले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.