दार्चुला – भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराउनुभएको हो ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताउनुभयो ।
शपथ ग्रहण समारोहमा गृह मन्त्री बालकृष्ण खाणका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल तथा मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो ।