दार्चुला- इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।
खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, नटिङ्घम फरेस्ट १४ अङ्क जोडेर १८औँ स्थानमा छ ।
यस्तै, गएराति नै भएको खेलमा एस्टन भिल्लाले टोटेनह्यामलाई हराएको छ । गएराति भएको खेलमा टोटेनह्याम २–० गोल अन्तरले पराजित भएको हो । एस्टन भिल्लाको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एकर एक गोल गरे । १२औँ स्थानमा रहेको एस्टन भिल्लाले १७ खेलमा २१ अङ्क जोडेको छ भने १७ खेलमै ३० अङ्क जोडेको टोटेनह्याम पाँचौँ स्थानमा छ ।