दार्चुला।नयाँ आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेशभित्र आर्थिक अनियमितताका उजुरी बढ्न थालेका छन् ।
सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा आर्थिक वर्ष २०८०र८१ सुरु भएसँगै अनियमिता विरुद्धका उजुरी बढ्न थालेको हो। सार्वजनिक पद धारण गरकै व्यक्ति एवं सार्वजनिक संघसंस्थाबाट अनियमितता हुने गरेको भन्दै अख्तियारमा उजुरी आउनेक्रम बढेको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो महिना, साउन १५ गतेसम्म सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट गरी ७७ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्। सबैभन्दा बढी हुलाक सेवाबाट ४१, समाचार पत्रको आधारमा एक, लिखित १४ तथा इमेलबाट १९ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ।
संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित योजनामा भइरहेको आर्थिक अनियमितता विरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी पर्ने गरेका छन्। कुल उजुरीमध्ये ३५ प्रतिशतभन्दा बढी स्थानीय तहसँग सम्वन्धित उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।