काठमाडौं- रुपन्देही ३ मा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै गर्दा नयाँ-नयाँ आकांक्षी देखा पर्न थालेका छन् । औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।
राजनीतिक दलहरु उम्मेदवार खोज्न व्यस्त रहँदा केही ‘स्वतन्त्र’ अनुहार पनि दौडमा मिसिने तर्खर गर्दैछन्, जसमध्ये एक हुन् सन्तोष गिरी । विगतमा एमालेको पृष्ठभूमि भए पनि अहिले ‘बालेननिकट’ उम्मेदवारका रुपमा चुनावमा होमिन लागेका हुन् । यदि अहिले प्रचार गरिएजस्तै बालेनले खुलेर समर्थन गरेको खण्डमा उनको दावेदारी सशक्त हुन सक्छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ पश्चिमपहुनीका ३३ वर्षीय गिरी विगतमा विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव बनेका थिए । हाल उनी काठमाडौंका मेयर मेयर बालेनको सल्लाहकार टीममा छन् । उनी बालेनको खाद्य सल्लाहकार हुन् । साथै, नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन् । गिरीले अर्थशास्त्रमा एमएको साथै एलएलबी गरेका छन् ।
रास्वपाबाट उठ्ने हल्ला गर्दै आएका सागर ढकालको समेत समर्थन लिएर उम्मेदवारी दिने गिरीको योजना छ । यस्तै, स्वतन्त्रबाट धनगढीको मेयर जितेका गोपी हमालदेखि कुलमान घिसिङसमेतको साथ लिने भनेर समेत प्रचार गरिएको छ । भोलि वा पर्सिसम्म उम्मेदवारी घोषणा गर्ने गिरीको तयारी छ । यही सिलसिलामा उनी निकट केही व्यक्तिहरु रुपन्देही आइसकेका छन् ।
०७९ को निर्वाचनलगत्तै बालेनको सल्लाहकारको भूमिकामा रहेको गिरी बताउँछन् । ‘निर्वाचनपछि मेयर सा’पको सल्लाहकारको टीममा छु, विषयगत सल्लाह उहाँको प्राथमिकतामा पर्दछ,’ उनले भने । गिरीसँगै खाद्य तथा गुण नियन्त्रण विभागकी पूर्वडीजी जीवन प्रभा लामा, सेफ सन्तोष साह बालेनको खाद्य सल्लाहकार टिममा छन् ।
बालेनका आइटी विज्ञ सुदीप ढकाल पनि भैरहवाकै हुन् । त्यसैगरी भैरहवाका सुनील लम्साललाई बालेनले पूर्वाधार सल्लाहकारसँगै फोहरमैला व्यवस्थापनको सम्पूर्ण जिम्मा दिएका छन् । नेपाल प्रेससँगको कुराकानीमा गिरीले मंगलबार वा बुधबार उम्मेदवारी घोषणा गर्ने र बताए ।
‘भोलि या पर्सी आउँछ । उम्मेदवारी घोषणा गरेर तयारी गर्नुपर्यो । क्षेत्र ठूलो छ । सबैतिर बिस्तारै भेटघाट गर्नुप¥यो । सबै साथीहरूको चाहनालाई ध्यानमा राखेर उठ्न लागेको हुँ’, उनले भने ।
स्थानीय उम्मेदवार खोजिरहेको रास्वपाले आफूलाई समर्थन गर्न सक्ने आशासमेत गिरीको टिमले लिएको छ ।
‘०८४ मा सहकार्य गर्नेगरी हाम्रो टीमबाट अगाडि सारिएका उम्मेदारलाई रास्वपाले सहयोग गर्ने कुरामा हामी विश्वस्त छौं, नयाँ शक्ति लडेर जित्न सजिलो छैन, त्यसमाथि रास्वपामा बलियो उम्मेदरवाको तयारी पनि देखिँदैन’, गिरीको टीमका एक सदस्यले भने ।
राप्रपाले गुमाएको यो क्षेत्र सुरक्षित गर्न सो पार्टीबाट स्व. दीपक बोहराका दुई छोरा गौरव र प्रज्ज्वल तथा नातिनी स्वाती थापामध्ये एकको चर्चा छ । गौरवलाई रास्वपाले समेत आँखा लगाएको छ ।
कांग्रेस र एमालेमा पनि आकांक्षीहरूले दौडधुप बढाए पनि सिफारिस प्रक्रिया अघि बढेको छैन । माओवादी र नेकपा एसबाट पनि केही नाम चर्चामा छन् । मधेशकेन्द्रित दलको पनि प्रभाव रहेको यहाँ साझा उम्मेदवारको सहमति गरिएपनि तयारी देखिन्न ।
२०७९ को चुनावमा रुपन्देही ३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३ मत आएको थियो ।