दार्चुला । भारतबाट आयात हुने सामानमा भन्सार अनिवार्य गरिएपछि दार्चुला–धारचुला सीमा नाकामा सर्वसाधारणको आवतजावत र चहलपहल घटेको छ। दार्चुला सदरमुकाम खलंगास्थित पुलघाटमा विगतमा जस्तो किनमेलका झोला बोकेर वारपार गर्ने सर्वसाधारणको भीड देखिन छाडेको हो।
सरकारले भारतबाट ल्याइने सामानमा भन्सार अनिवार्य गरेपछि सीमावर्ती क्षेत्रको व्यापारमा प्रत्यक्ष प्रभाव परेको छ। भन्सारमा कडाइ गरिएसँगै भारततर्फको धारचुला बजारसमेत सुस्ताएको स्थानीय व्यापारीहरू बताउँछन्।
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने भएपछि स्थानीय उपभोक्ताले नेपाली बजारलाई प्राथमिकता दिन थालेका छन्। पछिल्लो समय खलंगा बजारमा नेपाली सामानको कारोबार बढेको व्यापारीहरूको भनाइ छ।
दैनिक उपभोग्य वस्तु, तरकारी, फलफूल तथा खाद्यान्न खरिदका लागि स्थानीयहरू भारतीय बजारभन्दा खलंगा बजारमै निर्भर हुन थालेका छन् । ततर, भारतको धारचुला बजारबाट सामान ल्याएर दैनिक गुजारा चलाउँदै आएका सर्वसाधारण भने भन्सार कडाइबाट प्रभावित भएका छन्।
भन्सारमा कडाइ भएपछि व्यापारीहरू आफैँ भन्सार कार्यालयमा आएर कर तिर्न थालेका छन्। सर्वसाधारणका लागि भने सामान आयातमा अझै केही सहुलियत रहेको भन्सार कार्यालयले जनाएको छ।
भन्सारमा गरिएको कडाइले एकातर्फ सरकारी राजस्व बढाए पनि अर्कोतर्फ सीमापारि सामान ओसारपसार गरेर जीविकोपार्जन गर्ने सर्वसाधारण तथा घरायसी प्रयोजनका लागि भारतबाट सामान ल्याउने उपभोक्ता प्रभावित भएका छन्।
