गालीले होइन, संस्कारले चल्छ राजनीति:

सुन्दर सिंह धामी

दार्चुला।राजनीति केवल सत्ता प्राप्त गर्ने प्रतिस्पर्धा मात्र होइन, यो संस्कार, मर्यादा र सहिष्णुताको अभ्यास पनि हो। लोकतान्त्रिक राजनीतिमा मतभेद हुनु स्वाभाविक प्रक्रिया हो, तर ती मतभेद कसरी व्यक्त गरिन्छन् र कसरी समाधानतर्फ लगिन्छन् भन्ने कुराले नै कुनै दलको चरित्र र भविष्य निर्धारण गर्छ। यही सन्दर्भमा नेपाली कांग्रेस र कम्युनिष्ट आन्दोलनको आन्तरिक राजनीतिक संस्कारलाई तुलना गर्दा धेरै गहिरा पाठहरू भेटिन्छन्।
नेपाली कांग्रेसभित्र पछिल्ला वर्षहरूमा देखिएका विवाद, गुटबन्दी र आन्तरिक रस्साकस्सी साना छैनन्। नेतृत्व चयनदेखि नीति, रणनीति र सरकार सञ्चालनसम्मका विषयमा तीव्र मतभेद देखिएका छन्। गगन थापा, विश्वप्रकाश शर्मा, शेरबहादुर देउवा जस्ता नेताहरूबीच स्पष्ट राजनीतिक असहमति रहे पनि सार्वजनिक रूपमा व्यक्तिगत गाली–गलौज, चरित्रहत्या र असभ्य आरोप–प्रत्यारोप प्राथमिक हतियार बनेको देखिँदैन। आलोचना हुन्छ, बहस हुन्छ, तर सम्मान र मर्यादाको सीमारेखा प्रायः नाघिँदैन। यही संस्कार कांग्रेसको ऐतिहासिक राजनीतिक अभ्यासको महत्वपूर्ण पक्ष हो।
इतिहासले प्रमाणित गरेको तथ्य के हो भने, असहमति र बहसले संगठन कमजोर बनाउँदैन; बरु चरित्रहत्या, घृणा र असहिष्णुताले मात्र सम्बन्ध भत्काउँछ र आन्दोलनलाई खोक्रो बनाउँछ। विचारको टकराव लोकतन्त्रको आत्मा हो, तर विचारभन्दा व्यक्ति माथि प्रहार हुन थाल्यो भने त्यहाँ लोकतान्त्रिक मूल्य समाप्त हुन्छ।
यसको ठीक उल्टो चित्र धेरैजसो कम्युनिष्ट दलहरूमा देखिँदै आएको छ। कम्युनिष्ट आन्दोलनभित्र सानो विवाद वा नेतृत्वमाथिको आलोचना सुरु हुनासाथ ‘विदेशी दलाल’, ‘राष्ट्रघाती’, ‘देशद्रोही’, ‘भ्रष्टाचारी’ जस्ता आरोपहरूको वर्षा हुन्छ। सामाजिक सञ्जालमा त यस्तो स्तरहीन भाषा प्रयोग गरिन्छ, जुन सभ्य राजनीतिक बहसभन्दा धेरै टाढा हुन्छ। आलोचना सहन नसक्ने, फरक मतलाई शत्रु ठान्ने र नेतृत्वलाई या त देवता बनाउने या पूर्ण रूपमा खलनायकका रूपमा चित्रण गर्ने प्रवृत्ति गहिरिँदै गएको छ।
यही असहिष्णु र आक्रामक संस्कारले कम्युनिष्ट आन्दोलनलाई आन्तरिक रूपमा कमजोर बनाएको छ। संगठनभित्र भरोसा घटेको छ, कार्यकर्ता विभाजित भएका छन् र जनता राजनीतिक स्थिरताप्रति निराश बन्दै गएका छन्। आन्दोलन बलियो बनाउने नाममा अपनाइएको गाली–गलौज र घृणाको राजनीति अन्ततः आफ्नै खुट्टामा बन्चरो हान्ने काम भइरहेको छ।
कांग्रेसको अभ्यासबाट कम्युनिष्टले सिक्नुपर्ने मुख्य पाठ यही हो—भिन्न मतलाई सम्मान गर्ने, आलोचनालाई आत्मसात गर्ने र संगठन तथा आन्दोलनको हितलाई व्यक्तिगत अहंकार र रिसभन्दा माथि राख्ने। नेतृत्व संस्कारसाथ अघि बढ्यो भने मात्र संगठन बलियो हुन्छ र जनताको विश्वास जित्न सकिन्छ। आलोचना दबाएर होइन, बहसलाई व्यवस्थित गरेर मात्र एकता दिगो बन्न सक्छ।
कम्युनिष्ट आन्दोलनलाई जोगाउन र वास्तविक एकता कायम राख्न यही सिकाइ अपरिहार्य छ। गाली र घृणामात्रैले न त क्रान्ति सम्भव हुन्छ, न त समाज परिवर्तन। संगठनभित्रको स्वास्थ्य, विश्वास र एकताको रक्षा तब मात्र सम्भव हुन्छ जब बहसको मैदानमा मर्यादा, संयम र राजनीतिक संस्कार कायम रहन्छ।
अन्ततः राजनीति गालीले होइन, संस्कारले चल्छ। कांग्रेसको इतिहासले देखाएको यो मार्ग कुनै अपमान होइन, आजको आवश्यकता हो। यही पाठ आत्मसात गर्ने कम्युनिष्टको भविष्य उज्यालो हुन सक्छ; अन्यथा आफ्नै आन्तरिक द्वन्द्व, असहिष्णुता र गाली–गलौजले उनीहरूलाई निरन्तर थिचिरहनेछ।

लेखक:- सुन्दर सिंह धामी ( पत्रकार महासंघ दार्चुलाका सचिब हुन)

Leave A Reply

Your email address will not be published.