दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शैल्यशिखर नगरपालिका–७ देवथलीस्थित हुनैनाथ माध्यमिक विद्यालयमा लागुऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
आज मङ्गलबार (आज) आयोजित उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक गरी करिब ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय गोकुलेस्वरका प्रहरी निरीक्षक निरज सिंह भाटले प्रशिक्षण दिनुभएको हो।
प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक भाटले लागुऔषध के हो, यसको प्रयोगबाट शारीरिक, मानसिक तथा सामाजिक रूपमा पर्ने गम्भीर असरका विषयमा स्पष्ट पार्नुभयो। साथै किशोर–किशोरी उमेरमा लागुऔषधको लत लाग्ने कारण, त्यसबाट बच्ने उपाय तथा समाज र परिवारको भूमिकाबारे समेत जानकारी दिनुभयो। लागुऔषध प्रयोगले भविष्य, शिक्षा र सामाजिक सम्बन्धमा पर्ने नकारात्मक प्रभावबारे उदाहरणसहित बुझाइएको थियो।
कार्यक्रममा विद्यार्थीलाई गलत संगतबाट टाढा रहन, आत्मविश्वास बढाउन र कुनै शंकास्पद गतिविधि देखेमा अभिभावक, शिक्षक वा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको थियो। विद्यालय स्तरमै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा लागुऔषध नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ।