दार्चुला । सामुदायिक रेडियो स्मार्ट एफ.एम. डाेटीले सञ्चालन गर्दै आएको “सानाे सहयाेग अभियान” अन्तर्गत एक पीडित परिवारलाई सहयाेग रकम हस्तान्तरण गरिएको छ। डाेटी जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नं. ४, सानागाउँ निवासी ७१ वर्षीय नारायण सिंहलाई बिहीबार ७३ हजार २ सय ४५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो।
स्मार्ट एफ.एम. डाेटीका प्रवन्ध निर्देशक दिपेन्द्र खड्काको नेतृत्वमा सञ्चालित उक्त अभियान अन्तर्गत संकलित सहयोग रकम सिंहलाई उनकै निवासमा पुगेर हस्तान्तरण गरिएको हो। पारिवारिक, आर्थिक तथा सामाजिक रूपमा अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेका सिंहको यथार्थ अवस्थालाई रेडियोले सार्वजनिक गरेपछि देश तथा विदेशमा रहेका सहयोगी दाताहरूबाट सहयोग जुटेको हो।
गत पुस १७ गते सामुदायिक रेडियो स्मार्ट एफ.एम. डाेटीको आधिकारिक फेसबुक पेजमार्फत नारायण सिंहको पारिवारिक अवस्था सार्वजनिक गरिएको थियो। सिंहको जीवनयापन, पारिवारिक समस्या र दैनिकीका चुनौतीहरूबारे प्रसारण गरिएको सामग्रीपछि श्रोता, दर्शक तथा शुभेच्छुकहरूको ध्यान आकर्षित भएको थियो। त्यसपछि प्रवन्ध निर्देशक खड्काको पहलमा “सानाे सहयाेग अभियान” सञ्चालन गरिएको हो।
अभियानमार्फत देश तथा विदेशमा रहेका ५२ जना सहयोगी दाताहरूको आर्थिक सहयोग संकलन गरिएको प्रवन्ध निर्देशक खड्काले जानकारी दिए। उनले रेडियो केवल ध्वनि तरङ्गको माध्यम मात्र नभई समाजका दबिएका, लुकेका र पीडित वर्गको आवाज बन्नुपर्नेमा जोड दिए।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै खड्काले भने, “रेडियो मनोरञ्जन र सूचनाको साधन मात्र होइन, समाजका पीडा, समस्या र यथार्थलाई उजागर गर्ने माध्यम पनि हो। समयअनुसार प्रविधिको प्रयोग गर्दै समाजभित्र भइरहेका गतिविधिमा प्रत्यक्ष संलग्न हुनु आजको आवश्यकता हो।” उनले स्मार्ट एफ.एम.ले आगामी दिनहरूमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सहयोग रकम ग्रहण गर्दै नारायण सिंहले सामुदायिक रेडियो स्मार्ट एफ.एम. डाेटी र पत्रकार दिपेन्द्र खड्काप्रति आभार व्यक्त गरे। “मेरो आवाज, मेरो यथार्थता सबैसामु पुर्याइदिनुभएकोमा म आभारी छु,” उनले भने, “देश तथा विदेशमा दुःख गरेर कमाएको रकम हामीजस्ता गरिब र असहायलाई सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।” उनले प्राप्त सहयोग रकमले दैनिकी सहज हुने विश्वास व्यक्त गरे।
नारायण सिंहको परिवारिक अवस्था अत्यन्तै जटिल रहेको छ। ६ जना परिवार सदस्यमध्ये ४ जना मानसिक सन्तुलन गुमाएका छन्। परिवारको आयस्रोत नहुँदा सामाजिक सुरक्षाभत्ताकै भरमा जीवनयापन गर्दै आएका सिंह आर्थिक रूपमा निकै कमजोर अवस्थामा छन्। उपचार, खानपान तथा दैनिक खर्च धान्न समेत कठिन हुँदै आएको अवस्थामा रेडियोमार्फत प्राप्त सहयोगले केही राहत मिल्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले सामुदायिक रेडियोको यस प्रकारको मानवीय पहलको खुलेर प्रशंसा गरेका छन्। रेडियोले समाजमा लुकेर रहेका यथार्थ समस्यालाई उजागर गर्दै सहयोग अभियान सञ्चालन गर्नु सकारात्मक उदाहरण भएको उनीहरूको भनाइ छ।
सामुदायिक रेडियो स्मार्ट एफ.एम. डाेटीले सञ्चारसँगै सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात् गर्दै समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस “सानाे सहयाेग अभियान”ले सञ्चार माध्यमले समाज परिवर्तनमा खेल्न सक्ने प्रभावकारी भूमिकाको सन्देश दिएको छ।