दार्चुला । दार्चुलामा दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाको व्यासँ गाउँपालिका वडा नं- १का मतदाताहरुलाई मतदान गर्नका लागि दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिएका छन् । अस्थायी मतदान केन्द्रमार्फत उनीहरुले मतदान गर्ने बताइएको छ । छाङरु र तिंकरकै नामका विद्यालय खलंगामा भएको हुँदा सोही अनुसार मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार छाङरुका लागि कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र तिंकरका लागि मोति महिला संघ आधारभूत विद्यालयमा २४४ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशित गरेको छ ।
२०७९ सालको निर्वाचनमा छाङरुमा ३८३ र तिंकरमा २३४ जना मतदाता रहेका थिए । यसअघि २०७९ सालको स्थानीय तह निर्वाचन छाङरु र तिंकरकै मतदान केन्द्रमा सम्पन्न भएको थियो । तर यसपटक गत मंसिरमै स्थानीय खलंगा झरेका कारण मतदान केन्द्र खलंगामै राख्न माघ ५ गते माग गरिएको थियो ।

सदरमुकाम खलंगामै मतदान केन्द्र तोकिँदा मतदाताको संख्या बढने अपेक्षा गरिएको छ । जिल्लाभर यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार ११२ मतदान स्थलमध्ये १५ वटा अतिसम्बेदनशील, ३२ वटा सम्बेदनशील र ६५ वटा सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ । २०७९ सालमा ९० हजार ७८२ मतदाता रहेकामा यसपटकको प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार १६६ मतदाता थपिएर संख्या ९२ हजार ९४८ पुगेको छ । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् ।
