दार्चुला । दार्चुलामा एक जना महिला सहित तीन जनामा कुष्ठरोग देखिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा चालू आर्थिक वर्षको हालसम्म एक जना महिला सहित तीन जनामा कुष्ठरोग देखिएको जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टका अनुसार जिल्लाको मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका गरी तीन जनामा कुष्ठरोग देखिएको बताएका छन् । मार्मा गाउँपालिकाका १ जना र नौगाड गाउँपालिकाका २ जनामा यो रोग देखा परेको कार्यालयले जनाएको छ ।
जिल्लाका अन्य स्थानीय तहका व्यक्तिहरुमा यो रोग देखा नपरेको बताइएको छ । कुष्ठरोग फेला परेका विरामीले अहिले औषधी सेवन गरिरहेका छन् । गत आर्थिक वर्षमा पनि जिल्लामा १ जना महिला र एक जना पुरुषमा यो रोग देखिएको थियो ।
महाकाली नगरपालिकाका १ जना र मार्मा गाउँपालिकाका १ जनामा गत वर्ष यो रोग फेला परेको थियो । स्वास्थ्य कार्यालयले यो रोगको जोखिम जिल्लामा कायमै रहेको जनाएको छ ।
यसैविच आईतबार आज स्वास्थ्य कार्यालय दार्चुलाले ७३ औँ विश्व कुष्ठरोग दिवस पनि मनाएको छ । “कुष्ठरोगको छ ओखती, सामाजिक लान्छना र विभेद मुख्य चुनौती” भन्ने नाराका साथ आज यो दिवस मनाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हुँदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो रोग माइकोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणको कारणले लाग्ने गरेको छ ।
सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा वा चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जाने चिकित्सकको भनाइ छ ।