दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै दार्चुलाका १५६ जनाले निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हातहतियार बुझाएका छन् ।
यही माघ २० गतेभित्र इजाजत प्राप्त हातहतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा उक्त सङ्ख्यामा हातहतियार प्राप्त भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार धनीसँग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । व्यक्तिले अनुमति लिएर राखेका हातहतियार पनि बुझाइएका छन्, प्रजिअ पौडेलभने, “निर्वाचन सुरक्षाका दृष्टिले दार्चुलामा कुनै किसिमको जोखिम छैन, सुरक्षा व्यवस्था मजबुत छ ।”
गत वर्ष जिल्लामा १७४ जनाले हातहतियार नविकरण गरेको तथ्याङ रहेको छ । सूचनाको अवेज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
हातहतियार बुझाउँदा दिइएको निस्साका आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई लक्षित गरी जिल्लाको शान्तिसुरक्षालाई चुस्त र प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायले काम गरिरहेको छ ।