दार्चुलामा प्रतिनिधि सभा निर्वाचन : २०७९को नतिजा दोहोर्याउने कसरतमा कांग्रेस, हारको बदला लिने दाउमा एमाले
ललित सामन्त । २१ फागुनमा हुने चुनावको मिति नजिकिँदै गर्दा देशभर चुनावी सरगर्मी बढ्दो छ । राजनीतिक पार्टी, नेता कार्यकर्ता र उम्मेदवारहरू चुनावकेन्द्रित प्रचारप्रसारमा घरदैलो कार्यक्रममा व्यस्त छन् । कसरी हुन्छ, आफ्नो पक्षमा जनमत बटुल्नेमा यतिबेला राजनीतिक पार्टीहरू प्रयासरत देखिन्छन् । यस्तैमा हिमाली जिल्ला दार्चुला पनि चुनावी रौनक राम्रै लागेको छ ।
एकवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रमुख राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निकै महत्त्वका साथ हेरिरहेका छन् । यसको खास कारण भने केन्द्रीय राजनीतिमा हेभिवेट मानिएका नेता दिलेन्द्र प्रसाद बडू र जिल्लामा राम्रो प्रभाव जमाएका गणेश सिह ठगसन्ना नै हुन् । यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलाबाट ११ जना उम्मेदवार ब्याटल ग्राउन्डमा छन् ।
एमालेले यसअघिकै उम्मेदवार गणेश सिह ठगुन्नालाई चुनावी मैदानमा उतारेको छ भने कांग्रेसले नयाँ उम्मेदवार धर्मानन्द जोशीलाई मौका दिएको छ । यो पटक मैदानमा एमालेबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसबाट नयाँ अनुहार धर्मानन्द जोशी, नेकपाबाट लक्ष्मणदत्त जोशी, रास्वपाबाट पूर्वशिक्षक राजेशसिंह सामन्त र राप्रपाबाट पूर्वकर्णेल राजेश चन्द छन् । यस्तै, विप्लव नेतृत्वको नेकपाबाट नवराज भट्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, आमजनता पार्टीबाट प्रेमसिंह बडाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेश कुमार रावल र नेकपा संयुक्तबाट विद्यादेव जोशी पनि प्रतिस्पर्धामा छन् ।
यसअघि प्रतिनिधिसभा निर्वाचन, २०७९ मा दार्चुलाबाट नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्र प्रसाद बडू निर्वाचित भएका थिए । बडूले एमालेका उम्मेदवार गणेश सिह ठगुन्नालाई २,१३४ मतान्तरले पराजित गरेका थिए । बडूले २८,५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी ठगुन्नाले २६,३८१ मत प्राप्त गरेका थिए । २०७९ सालमा कांग्रेसलाई तत्कालीन नेकपा माओवदी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थियो । तर यो पटक उनै बडू निर्वाचनमा उम्मेदवार भएका छैनन् ।
केन्द्रीय राजनीति र जिल्लामा राम्रै प्रभाव रहेका दुई नेता बडू र ठगुन्नाको पार्टी विच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जिल्लाको विकास र सरोकारका विषयमा राम्रैसँग दख्खल राख्ने व्यक्तिको रूपमा जिल्लावासीहरूले चिनेका नेता ठगुन्ना हुन । खासगरी २०७४ सालको निर्वाचनपछि विजय भएका ठगुन्नाले संसदमा देखाएको उपस्थितिले उनलाई राम्रै चिनाएको छ ।
यसको सफलतालाई समेत राम्रैसँग क्यास गर्दै पुन: विजय भएर संसद छिर्ने कसरतमा ठगुन्ना देखिन्छन् । तर, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण दत्त जोशीले यसपटक जसरी पनि ठगुन्नाको विजय यात्रालाई ब्रेक लगाउने तयारीमा छन् ।
यसअघि जम्मा २ हजार १३४ मतले मात्र पराजित हुन पुगेका ठगुन्ना यसपटक प्रमुख पार्टीहरू छुट्टाछुट्टै चुनावी मैदानमा रहेकाले पनि आफ्नो जित सुनिश्चित रहेको विश्लेषण गर्छन् । अघिल्लोपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो ।
२०६४ सालको नतिजा फर्काउने दाउमा नेपाली कम्युनिस्ट पार्टी
दार्चुलाबाट २०६४ सालयता नेपाली कम्युनिस्ट पार्टीले सांसद पाएको छैन । खासगरी २०६४ सालयता यस क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले प्रभाव जमाउँदै आएका छन् ।
दोस्रो संविधानसभा निर्वाचन, २०७० मा भने एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाँदा यस क्षेत्रबाट नेकपा एमालेका नेता गणेश सिहं ठगुन्नाले पहिलो पटक बाजी मारेका थिए ।
ठगुन्नाको राजनीतिक ग्राफ हेर्दा उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी भएका थिए । वि:स २०४८ मा राप्रपाले एउटा क्षेत्र जितेको र २०६४ मा माओवादीले जितेको बाहेक यहाँ नेकपा एमाले र नेपाली कांग्रेस दुई ठुला दलकै वर्चस्व छ ।
अहिले यस क्षेत्रबाट कांग्रेसले धर्मानन्द जोशी उठाएको छ । नेकपाले उनै २०६४ सालमा जितेका लक्ष्मण दत्त जोशीलाई मैदान लिएको छ । नेकपाले यस क्षेत्रबाट २०६४ सालयताको शून्यतालाई ब्रेक गर्ने तयारी गरिरहेको छ । तर, यसमा पुराना अनुभवी र प्रभावशाली उम्मेदवारसँगै नयाँ शक्तिको रूपमा उदाएको रास्वपाको उम्मेदवारसँग राम्रै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
दार्चुलामा कुन पार्टीको कति छ मत ? (२०७९ को समानुपातिक)
कुल खसेको ५८ हजार ९९१ मत मध्ये नेकपा एमालले २४ हजार ८८३ मत पाएर जिल्लामा पहिलो भएको थियो । यस्तै नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएर दोस्रो भएको थियो । यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रले आठ हजार १९० मत ल्याएर तेस्रो भएको थियो ।
अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त थिए । खसेका जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका थिए ।