दार्चुलाको अपिहिमाल गाउँपालिमा पहिलो पटक एसईई परीक्षा केन्द्र स्थापना

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा पहिलो पटक एसईई (माध्यमिक शिक्षा परीक्षा) केन्द्र स्थापना गरिएको छ । यसअघि त्यहाँका विद्यार्थी मार्मा गाउँपालिकाको परीक्षा केन्द्रमा पुगेर परीक्षा दिने गरेका थिए ।

तर, यस वर्षदेखि पालिकाकै तामाखानी भगवती आधारभुत विद्यालय चौबिसन परीक्षा केन्द्र तोकिएपछि विद्यार्थी हर्षित भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार विद्यार्थीको कठिनाइलाई ध्यानमा राख्दै पहिलो पटक परीक्षा केन्द्र स्थापना गरिएको बताएका छन् ।

गत विगतका वर्षहरुमा त्यहाँका विद्यार्थीहरु दुईघण्टा पैदल हिडेर एक घण्टा गाडीमा चढेर मार्मा गाउँपालिकाको परीक्षा केन्द्रमा परीक्षा दिने गरेका थिए । यसअघि, पाठ्पुस्तक तथा अन्य आवश्यक सामग्री बोकेर लामो दूरी पार गर्नुपर्ने भएकाले जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा पहिलो पटक एसईई (माध्यमिक शिक्षा परीक्षा) केन्द्र अपिहिमालमा राख्न सफल भएको सूचना अधिकारी जोशीले बताए ।

पहिलो पटक स्थापना गरिएको तामाखानी भगवती आधारभुत विद्यालय चौबिसन परीक्षाकेन्द्रबाट नियमित र ग्रेडबृद्धितर्फका १५० जना विद्यार्थीले परीक्षामा सहभागि हुन पाउने भएको छन् । अपिहिमाल गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण भएसँगै अब दार्चुलाका ९ वटै पालिकामा परीक्षा केन्द्र कायम भएको उनले बताए । परीक्षा केन्द्र निर्धारण भएसंगै अपिहिमाल गाउँपालिकाका ४ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरुको परीक्षा सोही केन्द्रमा सञ्चालन हुने बताइएको छ ।

जिल्लामा अन्य १६ वटा परीक्षा केन्द्रहरु भने साविककै रहेका छन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाबाट साढे ३ हजार बढी विद्यार्थी सहभागी हुँदैछन् । यहि चैत्र१९ गतेदेखि सुरू हुने परीक्षामा जिल्लामा नियमित तथा ग्रेड बृद्धितर्फका गरि ३ हजार ५ सय ६८ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए । यस पटक जिल्लामा नियमित तर्फ २ हजार ५ सय २८ जना र ग्रेड बृद्धी तर्फ १ हजार ४० जना विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

Leave A Reply

Your email address will not be published.