काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
पक्राउपछि ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
‘एनेक्स–१’को शय्या नम्बर ५०१ मा उनको २४सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए ।
ओलीमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको छ ।
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । ओली शारीरिक तथा मानसिक रूपमा तयार भएपछि केही दिनमा शल्यक्रिया गरिने रोस्यालले जानकारी दिए । उनका अनुसार, ओलीको स्वास्थ्य अवस्था स्थिर भए पनि केही दिन हेरेर मात्र शल्यक्रियाको निर्णय लिइनेछ ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का पनि सोही अस्पतालमा उपचाररत छन् । आइतबार पक्राउ परेका उनलाई स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको हो ।
बान्ता तथा पखालाका कारण अस्पताल भर्ना भएका खड्काको स्वास्थ्य अवस्था सुधारात्मक रहेको अस्पतालले जनाएको छ । उनको बान्ता रोकिए पनि पखाला भने सामान्य अवस्थामा आइनसकेको अस्पतालका सहायक प्रवक्ता रोस्याराले बताए ।
उनका अनुसार, खड्को स्वास्थ्यमा हालसम्म अन्य समस्या देखिएको छैन ।