दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकामा महिला पतंजली योग समिति गठन गरिएको छ। स्थानीय प्रेम जोशीका अनुसार गिता डाँगाको अध्यक्षतामा समिति चयन गरिएको हो।
यससँगै दुई दिने महिला योग विज्ञान शिविर पनि सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रशिक्षकको रूपमा दार्चुला जिल्ला अन्तर्गतको महिला पतंजली योग समितिका उपाध्यक्ष, महासचिव तथा प्रचार विभाग संयोजकको सक्रिय सहभागिता रहेको बताइएको छ।
कार्यक्रममा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले योगको महत्वबारे जानकारी लिँदै यसको अभ्याससमेत गरेका थिए।
कार्यक्रमका वक्ताले योगका फाइदाबारे प्रकाश पार्दै भन्नुभयो, “योगले शरीरलाई लचिलो, बलियो र स्वस्थ बनाउँछ। ध्यान र प्राणायामले तनाव, चिन्ता र डिप्रेसन कम गर्छ।
नियमित योग अभ्यासले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ र शरीर, मन तथा आत्माबीच सन्तुलन कायम गराउँछ।” जनस्तरमा योगप्रतिको चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
