दार्चुलामा आज र भोली अर्थात (आइतबार र सोमबार) जिल्लाभरी बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालय दार्चुलाले दुईदिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब १० हजार ४५० जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब ९ हजार ४०५जना बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको उनले बताए ।
त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ३७० जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएका छन् । भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखालाजस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।
भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि २०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको थियो । यस्तै, जुका नियन्त्रण तथा रोकथामको लागि विसं २०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो । प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निस्शुल्क खुवाउने गरिएको छ ।

दार्चुलामा १० हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’क्याप्सुल खुवाइँदै