सर्वोच्च अदालतको निर्णयपछि कांग्रेसभित्रको विवाद अन्त्य, १५ औं महाधिवेशनमा एकताबद्ध हुन दिलेन्द्र बडूको आग्रह

दार्चुला  । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले नेपाली कांग्रेसभित्र देखिएको वैधानिकता सम्बन्धी विवाद अन्तत: समाधानतर्फ पुगेको बताएका छन्। उनले वैशाख ४ गतेको सर्वोच्च अदालतको निर्णयसँगै पार्टीभित्रको विवाद अन्त्य भएको उल्लेख गरेका छन्।

उनका अनुसार अब पार्टीभित्र बाँकी राजनीतिक मतभेद समाधान गर्ने एकमात्र वैधानिक तथा संस्थागत माध्यम आसन्न १५ औं महाधिवेशन नै हो। उनले यस विषयमा अब थप विवाद हुन नहुने धारणा व्यक्त गरे।

बडूले १४ औं महाधिवेशनअन्तर्गत कृयाशील सदस्यता नवीकरण, अद्यावधिक तथा नयाँ सदस्यता वितरणका सन्दर्भमा देखिएका प्रारम्भिक शंका पनि पार्टी प्रवक्ताद्वारा वैशाख ३ गते जारी विज्ञप्तिबाट स्पष्ट भएको बताए।

उनले केही विषयहरू अझै संवाद र सहमतिबाट टुंग्याउनुपर्ने भए पनि त्यसको नाममा अनावश्यक विवाद र जटिलता बढाउनु उचित नहुने बताए। पार्टी सभापतिले सकारात्मक, इमान्दार र शीघ्र पहल लिनुपर्नेमा उनले जोड दिएका छन्।

देश र पार्टी सामु रहेका चुनौतीहरूलाई ध्यानमा राख्दै नयाँ वर्ष २०८३ को सुरुवातसँगै सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई प्रस्तावित १५ औं महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुन उनले सबैमा आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.