नौगाड गाउँपालिकाद्वारा विद्यालयमा शुल्क नलिन निर्देशन

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयहरूलाई विद्यार्थी तथा अभिभावकबाट कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ। पालिकाले जारी गरेकोे सूचनामा नि:शुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिंह धामीद्वारा हस्ताक्षरित उक्त पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विभिन्न समयमा जारी भएका परिपत्र तथा नि:शुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७ अनुसार विद्यालयहरूले कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने उल्लेख गरिएको छ।
सूचनामा विद्यालय भर्ना लगायत अन्य सेवामा पनि शुल्क नलिन र कानुनी प्रावधानअनुसार कार्य गर्न स्पष्ट निर्देशन दिइएको छ। यस कदमले अभिभावकमाथिको आर्थिक भार घटाउने र सबै बालबालिकालाई शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले निर्देशनको पालना नगर्ने विद्यालयमाथि आवश्यक कारबाही गरिने संकेत समेत गरेको छ। नयाँ विद्यार्थी भर्ना अभियान सरकारले भोलीबाट गर्न देशैभर निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.