नौगाड गाउँपालिका विपद् शाखाको सूचना: तीव्र हावाहुरीको जोखिम, सतर्क रहन पालिकाबासीमा आग्रह

दर्चुला । नौगाड गाउँपालिकाले तीव्र हावाहुरीको सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाको विपद् शाखाबाट जारी सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको हो।

सूचनामा उल्लेख भएअनुसार वैशाख १६ गते बुधबार साँझदेखि हावाहुरी सुरु भई राति ८:४५ बजेसम्म रहने अनुमान गरिएको छ। साथै, मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ। हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवामा असर पर्ने जोखिम रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै केही महत्वपूर्ण सुझावसमेत दिएको छ। सकेसम्म घरबाहिर ननिस्कन, झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छानालाई बलियो बनाउन र आगो प्रयोगमा विशेष सतर्कता अपनाउन भनिएको छ।

साथै, कमजोर संरचना, रुखबिरुवा र विद्युत् तार नजिक नजान तथा हावाहुरीले उडाएर ल्याएका वस्तुबाट हुने चोटपटकबाट जोगिन सचेत रहन पनि अनुरोध गरिएको छ। गाउँपालिकाले आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहन र आवश्यक परे सम्बन्धित निकायसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.