हाल विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ गरेर नेपाल फर्काउन इन्टरपोलले अस्वीकार गरेको छ । इन्टरपोलसँग जोडिएका नेपाली प्रहरी अधिकारीले शिलापत्रलाई बताएअनुसार इन्टरपोललाई आग्रह गरिए पनि अस्वीकार भएको छ ।
देउवालाई पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोल लगाउने सरकारी चर्चालाई यसले धक्का पुगेको छ । गत चैत अन्तिममा इन्टरपोललाई पत्राचार गरिए पनि इन्टरपोलले आधार कमजोर रहेको देखाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दा देखाएर देउवा दम्पतीलाई पक्राउ गरेर नेपाल ल्याउने सरकारी योजना असफल भएको छ । राजनीतिक प्रतिशोध साँधेको भन्दै आरोप लागिरहेको बेलामा इन्टरपोलले पनि देउवा दम्पतीलाई पक्राउ गर्न अस्वीकार गरेको छ ।
के हो इन्टरपोल ?
विश्वभरका विभिन्न देशहरूको प्रहरीको संगठन हो इन्टरपोल । यसलाई इन्टरनेसनल क्रिमिनल पोलिस अर्गनाइजेसन अर्थात् अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठनको रूपमा चिनिन्छ । सन् १९२३ मा स्थापना भएको यो संगठन मूलतः अपराधजन्य कसुरमा प्रहरीको सहकार्यमा प्रयोग हुन्छ ।
नेपाल पञ्चायतकालमा इन्टरपोलको सदस्य भएको हो । ११ असोज २०२४ मा नेपाल इन्टरपोलको १००औँ सदस्य देश बनेको थियो । हाल इन्टरपोलमा १९६ देश छन् । यो भनेको संयुक्त राष्ट्रसंघका सदस्य देशभन्दा तीनवटा बढी देश हो ।
हरेक देशका सदस्य प्रहरी संगठनको केन्द्रमा एउटा इन्टरपोल विभाग हुने गर्छ । नेपाल प्रहरीको पनि इन्टरपोल विभाग छ । त्यही विभागले देउवा दम्पती पक्राउको प्रस्ताव गरेको थियो । तर, सफल भएन ।