दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नं.७ धापस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मालिकार्जुन मन्दिर लामो समयदेखि जीर्ण अवस्थामा रहँदै आएकोमा अब यसको पुन:निर्माण कार्यले गति लिन थालेको छ। सुदूरपश्चिम प्रदेश सरकारले मन्दिर पुन:निर्माण तथा व्यवस्थापनका लागि रु. ७ लाख ५० हजार बजेट विनियोजन गरेपछि निर्माण प्रक्रिया अघि बढेको हो।
विगतमा विभिन्न सरकारले मन्दिर पुन:निर्माणका लागि बजेट विनियोजन गरे पनि सरकार परिवर्तनसँगै बजेट कटौती हुने तथा स्थानीय तहबाट आवश्यक प्राथमिकता नपाउँदा काम सुरु हुन सकेको थिएन। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा देखिएको ढिलाइप्रति स्थानीयवासीहरूले पटक–पटक चासो व्यक्त गर्दै आएका थिए।
मन्दिर निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन वडा नं. ०७ का स्थानीयवासी, शुभेच्छुक तथा भक्तजनहरूले सामूहिक रूपमा चन्दा संकलन अभियान सञ्चालन गरेका छन्। नगद तथा अनलाइन माध्यममार्फत देश तथा विदेशमा रहेका गाउँबासी तथा भक्तजनहरूबाट सहयोग जुटिरहेको जनाइएको छ।
स्थानीय युवा विशाल सिंह रैखोलाका अनुसार हालसम्म ११ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। “यो केवल मन्दिर निर्माणको काम मात्र होइन, गाउँको धार्मिक आस्था, एकता र सामूहिक अभियान पनि हो,” उनले बताए।
उनका अनुसार स्थानीय युवाहरू निर्माण कार्यमा प्रत्यक्ष रूपमा खटिरहेका छन् भने आवश्यक निर्माण सामग्री व्यवस्थापनदेखि श्रमदानसम्मका काममा गाउँबासीहरूको उल्लेखनीय सहभागिता रहेको छ।
मन्दिर पुन:निर्माण सम्पन्न भएपछि धार्मिक गतिविधि सञ्चालनमा सहजता हुनुका साथै आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयहरूको विश्वास छ। हाल मन्दिर परिसर व्यवस्थापन, संरचना निर्माण तथा अन्य आवश्यक कार्यहरू निरन्तर रूपमा अघि बढिरहेको जनाइएको छ।