दार्चुला । अपिहिमाल गाउँपालिका स्थानीय जलवायु अनुकूलन परियोजना कार्यान्वयन इकाइद्वारा सञ्चालित २५ दिने हस्तकलाका सामग्री बनाउने तालिम सम्पन्न भएको छ ।
वडा नम्बर ३ का महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा मकैको खोस्टा (प्वाख) प्रयोग गरेर विभिन्न हस्तकलाका सामग्री बनाउने सीप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिममार्फत स्थानीय स्रोत–साधनको उपयोग गर्दै महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी गतिविधितर्फ प्रेरित गर्ने उद्देश्य राखिएको थियो ।
तालिम समापन कार्यक्रममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै घरेलु तथा व्यावसायिक रूपमा हस्तकलाका सामग्री उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले यस्ता तालिमले महिलाको आर्थिक सशक्तीकरणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।