दार्चुला । राष्ट्रिय भूमि आयोग र भूमि समस्या समाधान आयोगमार्फत दार्चुला जिल्लामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण कार्य तीव्र रूपमा अघि बढाइएको छ।
उपलब्ध विवरणअनुसार राष्ट्रिय भूमि आयोगमार्फत दुहुँ गाउँपालिका–३ मा अव्यवस्थित बसोबासी अन्तर्गत २० वटा पुर्जा वितरण गरिएको छ भने भूमि समस्या समाधान आयोगमार्फत थप ६१ वटा पुर्जा वितरण गरिएको जनाएको छ। तीमध्ये अधिकांश पुर्जा शैल्यशिखर नगरपालिका क्षेत्रमा वितरण भएका हुन्।
यस्तै, महाकाली नगरपालिकामा ४ जना भूमिहीन सुकुम्बासी र ५७ जना अव्यवस्थित बसोबासीलाई वितरण गरिएको छ । हालसम्म सम्पूर्ण प्रक्रिया पूरा गरी राजस्व बुझाउन बाँकी रहेका २९ वटा फाइलमध्ये अधिकांश शैलेशिखर नगरपालिकासँग सम्बन्धित रहेका जनाइएको छ।
जिल्लाका ९ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा सकारात्मक तथा नकारात्मक प्रकृतिका जग्गाको पहिचान भइसकेको छ भने बाँकी २ स्थानीय तहमा अन्तिम चरणको काम भइरहेको छ।
यसअघि आयोग र समितिमार्फत वितरण गरिएका तथा हालसम्मका प्रक्रियाबाट जम्मा ४७५ जग्गाधनी पुर्जाको अभिलेख तयार गरिएको छ। तीमध्ये राष्ट्रिय भूमि आयोग तथा भूमि समस्या समाधान आयोगमार्फत अव्यवस्थित बसोबासी ७७ जना र सुकुम्बासी ४ जनालाई गरी कुल ८१ वटा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको उल्लेख छ।
यस्तै, जिल्लाभर प्राप्त निवेदनको संख्या २ हजार ८५४ रहेको छ। जसमा भूमिहीन दलित ५४३, भूमिहीन सुकुम्बासी ५४ र अव्यवस्थित बसोबासी २ हजार २ सय ५७ जना रहेका छन्।
स्थानीय तहअनुसार अपिहिमाल गाउँपालिकाबाट ६९६, दुहुँ गाउँपालिकाबाट १४ र व्यास गाउँपालिकाबाट १५८ निवेदन प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ।
