तिङ्कर छ्यालेकमा सशस्त्र प्रहरी बल खटियो

दार्चुला । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने चीनसँगको सीमानाका तिङ्कर छ्यालेकमा सशस्त्र प्रहरी बल खटिएको छ ।

बाक्लो हिउँ जमेका कारण गत कात्तिकको पहिलो साता छाङरु झरेको सशस्त्र प्रहरीको टोली वैशाख २८ देखि तिङ्करस्थित छ्यालेकको बोर्डर आउट पोस्ट (बिओपी) मा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेड क्वाटर छाङरुका सशस्त्र प्रहरी नायब उपरीक्षक फणीन्द्रबहादुर शाहीले जानकारी दिए ।

सुरक्षाविहीन भएको सात महिनापछि चीनसँगको सीमानाका तिङ्कर छ्यालेकमा सशस्त्र प्रहरी निरीक्षक जयबहादुर महराको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली खटिएको हो । गत कात्तिकको पहिलो साता सशस्त्र प्रहरी छाङरु झरे पनि बेला बेला त्यस क्षेत्रतर्फ गस्ती जाने गरेको उनले बताए । सुरक्षाकर्मी बाह्रै महिना बस्न सक्ने किसिमको भौतिक पूर्वाधार अभावमा हिउँदमा तिङ्कर नाका सुरक्षाकर्मीविहीन हुने गरेको छ ।

राज्यले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न तथा बाह्य राष्ट्रको हस्तक्षेप रोक्न भौतिक पूर्वाधारको उचित व्यवस्थापन गरेर बाहै्र महिना सुरक्षाकर्मी परिचालन गर्न यहाँका स्थानीयले माग गरेका छन् । छाङरुबाट तिङ्करगाउँको दुरी १२ किलोमिटर रहेको छ ।

Leave A Reply

Your email address will not be published.