दार्चुला । प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाले व्याँस गाउँपालिका–४ सुन्सेरा स्थित सम्पन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रधानाध्यापक संघ व्याँस गाउँपालिका अध्यक्ष बलदेव सिंह धामीको मृत्यु घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको सुसाइड नोटका आधारमा उनको मृत्यु विभिन्न दबाब र मानसिक पीडाको परिणाम भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा इमानदार तथा कर्तव्यनिष्ठ प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै घटनाको घोर भत्र्सना तथा निन्दा गरिएको छ । साथै घटनाको निष्पक्ष र कानुनी छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
प्रधानाध्यापक संघ दार्चुलाका अध्यक्ष सुन्दर सिंह बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिमाथि हुने मानसिक दबाब र असुरक्षाको अवस्था अन्त्य गर्न समेत माग गरिएको छ । धामीले आफूलाई योजनाबद्ध रूपमा चरित्रहत्या, मानसिक तनाव र सामाजिक अपमानमा पारिएको दाबी गर्दै त्यसैका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । धामीको मृत्युको वास्तविक कारण र उनले लगाएका आरोपबारे अनुसन्धान हुने दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताए ।
प्रधानाध्यापक धामी आज बिहान विद्यालयको निवासमा मृत फेला परेका हुन् । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन भएको डिएसपी महतले बताए ।
